Letter 03 : मलाई आएको चिठ्ठी

Aditya Pokharel
4 min readMay 18, 2021

Writing a letter is an act of love. I’m fortunate enough to have friends who take their time to let me know know they love me.

प्रिय आदित्य,

तिमीलाई चिट्ठी लेख्छु भनेर बसेको पनि निकै दिन बितिसकेछ। यो अत्यासलाग्दो वर्तमानमा गर्छु भनेर साँचेका अनेकौं काम छुटिरहेकै त छन्। यो समय हामी एउटा कठोर र डरलाग्दो सत्यसँग साक्षात्कार गरिरहेका छौँ। जुनैबेला जस्तो अवस्थामा पनि हाम्रा जिन्दगीहरु हराउन सक्छन्। हाम्रा जिन्दगीहरु शवमा परिणत हुन सक्छन्। हाम्रा मृत्युहरु तथ्यांकमा परिणत हुन सक्छन् र एकैछिनमा यो संसारबाट हाम्रो अस्तित्व बिलिन भएर जान सक्छ। उसो त कोभिड नहुँदाकै समयमा पनि हाम्रा जिवनहरु अनिश्चित थिए र कोभिडपछि पनि अनिश्चित नै रहनेछन्। तरपनि हामी छउन्जेल एक अर्काका लागि कति मूल्यवान छौँ भनेर थाहा दिइरहन त सक्छौँ। सधैं कुराकानी भइराख्ने भएपनि चिट्ठी आदानप्रदानमा महशुस हुने आत्मीयता मलाई बहुत स्पेसल लाग्छ। आफ्नो जिवनमा महत्त्व राख्ने मान्छेहरुलाई चिट्ठी लेख्दा म औंधी खुसी हुन्छु। अनि चिट्ठी पाउँदा पनि। यी पछिल्ला समयहरुमा चिट्ठी लेखनले मलाई जुन सजिव आभास दिलाएको छ त्यसको लोभमा चुर्लुम्म डुबेको छु। सायद तिम्रो लागि भन्दा धेरै त म आफ्नो लागि लेखिरहेको छु। म यसमा पनि उहीँ आफ्ना नियमित गनगन लेख्नेवाला छु। तिमीले अहिलेबाटै केही खास अपेक्षा राखेनौ भने चिट्ठी सकिने बेलासम्ममा अलि कम निराश हुनेछौ। जेहोस् तिमीलाई चिट्ठी लेख्न सुरु गरेको यो समयमा म जुन खुसी महशुस गरिरहेको छु त्यो शब्दहरुमा बयान गर्नै सक्दिनँ। तिमीलाई लाग्न सक्छ कि केही महिना अगाडि तिमीले मलाई लेखेको चिट्ठीको जवाफस्वरुप यो लेखिरहेको छु। हुन सक्छ म केही जवाफहरु पनि लेखिरहेको छु तर यति चाहिँ भन्छु तिमीले लेखेको चिट्ठीको जवाफ लेख्नु छ भन्ने दायित्वबोधले लेखिरहेको भने छैन। त्यसबेला तिमीले मलाई नलेखेको भएपनि आज म यो चिट्ठी लेखिरहेकै हुन्थेँ। दायित्वबोधभन्दा केही पर रहेर जे जति गरिन्छ मित्रता भनेको त्यही त होला। मलाई मित्रताको परिभाषा दिने चेष्टा गर्नु चाहिँ छैन। मान्छेअनुसार फरक आयामहरु होलान्। फरक अनुभवहरु होलान्। केही लाइनको परिभाषाभित्र कैद गरेर मित्रता जस्तो मूल्यवान सम्बन्धलाई खुम्चाउनु पनि त एक किसिमको अन्याय होला। हामी त सम्बन्धहरु स्वतन्त्र हुनुपर्छ भन्ने मान्छे हौँ। म चाहन्छु हाम्रो सम्बन्ध पनि कुनै परिभाषाभित्र कैद नहोस्।

आजसम्मको जिवनमा मैले निकै कम मान्छे भेटेको छु जसलाई देखेर मभित्रको विकारहरु पहिचान गर्न सकेको छु। जसलाई देखेर मभित्र जमेर रहेको विषाक्तताको बोझबाट आफूलाई मुक्त गराउन मन लागेको छ। तिमी त्यही मान्छे हौ जसलाई नजिकबाट चिनेपछि मेरा सारा दुख निराशाहरुसँग भाग्न छोडेको छु। दुखहरुसँग भाग्दाभाग्दै मेरो बलियो र शाहसी आवरण बनिसकेको रहेछ जसलाई बोकेर म वर्षौं हिडेँ। मलाई यी जिवनका दौडहरुले शाहसी बन्न सिकाए, उर्जावान हुन सिकाए, बलियो हुन सिकाए। तर यो शाहसी र हिम्मतिलो मान्छेभित्र एउटा दुखी, नाजुक, निराश, त्रसित मान्छे पनि त थियो। म जति शाहसी हो त्यति नै नाजुक पनि त हो। मैले पूर्ण आफूलाई अंगालेर गरेर हिड्न त सिकेकै रहेनछु। तिमीभन्दा पहिला कसैले मलाई ‘फक बिइङ स्ट्रङ’ भनेको सम्झना छैन। मेरो शाहसी, बलियो आवरणको बोझमुनि थिचिदाथिचिदा मभित्रको नाजुक मान्छेले अचानक कब्जा जमाउन थालेपछि मैले आफ्नो सम्पूर्ण निरिहता, डर, भय, जोखिम, कमजोरीबारे थाहा पाएको हुँ। अब म यी चिजहरुसँग भाग्ने होइन बरु सामना गर्न थालेको छु। दुनियाँलाई आफ्नो कमजोरी देखाउन हुन्न भन्ने मान्यतालाई माझी औंला देखाएर हतास र निराश अनुहार खुलेरै देखाउन थालेको छु। आखिर मान्छे सदाबहार खुसी त हुन सक्दैन। दुख हाम्रो जिवनको अभिन्न हिस्सा न हो। दुखी छु भनेर स्विकार्दा अब कमजोर महशुस हुँदैन बरु स्वतन्त्र भएजस्तो लाग्छ। म ठिक नहुँदा पनि सबै ठिक चलिरहेको छ भन्ने अभिनय गर्नु छैन अब। आफ्ना सबै अवरोहलाई अंगाल्न सक्नु यति लिबरेटिङ अनुभव रहेछ कि तिमीलाई जति धन्यवाद दिए पनि पुग्दैन। तिमी जसरी आफू ठिक नहुँदा हामीसम्म आइपुगेको हुन्थ्यौ, आफूलाई खुलेर व्यक्त गरिरहेको हुन्थ्यौ, आफ्ना जोखिमबारे लेखिरहेको हुन्थ्यौ त्यसले मलाई अलग कोण दियो। म देख्थेँ तिमी मजस्तो दुखहरुलाई जबर्जस्ती धकेलेर अगाडि गइरहेका हुँदैनथ्यौ। तिमी दुख अंगालेर, बाँचेर, भोगेर त्यसमा डुबेर त्यसलाई परास्त गरेर निस्किन्थ्यौ।

मैले कतिपटक चकित भएर भनेको पनि थिएँ- तिमीलाई घृणा गर्नेहरुको बारेमा पनि यति राम्रो कसरी सोच्न सक्छौँ? तिमीले यति महत्त्वपूर्ण जवाफ दिएका थियौ कि जसलाई अंगालेर मैले आफूलाई कति गुनासा र घृणाहरुको बोझहरुबाट मुक्त गराउन सकेँ। ‘लभ इज इजिअर टु क्यारी द्यान हेट’। साँच्चै नै मेरा केही इगोहरुलाई जितेर प्रेम बोक्न थालेपछि जिन्दगी हलुंगो लाग्न थालेको छ। मान्छेहरुले नमागेका माफीहरु मनमनै दिन थालेपछि मुक्त भएको आभास हुन थालेको छ। आफूले माग्न बाँकी माफीहरु माग्न थालेपछि सारा बोझहरु पखालिएजस्तो लाग्न थालेको छ। तिमीले मलाई केही नसिकाएरै पनि धेरैथोक सिकाएका छौ। यी डिप्रेसिभ दिनहरुमा साथीहरुले दिएको माया सम्झेर त म भावुक हुने क्रम अझै रोकिएको छैन। तिमीलाई त शुल्क नलिने थेरापिस्ट नै मानेको छु। तिम्रो संगतमा नभएको हुन्थेँ भने मलाई मेरो अँध्यारो दुनियाँबाट उज्यालोमा निस्कन अझै कति समय लाग्ने थियो यकिनका साथ भन्न सक्दिनँ। दोस्तीमा नो सरी, नो थ्याङ्क यू भन्ने प्रचलित मान्यता पनि छ। हामी त मान्यताहरु तोड्नै जन्मेको मान्छे। एक अर्कालाई सरी पनि भनिरहेका हुन्छौँ, थ्याङ्क यू पनि भनिरहेका हुन्छौँ। समग्रमा तिमीलाई धन्यवाद दिनु यो चिट्ठीको मुख्य विषय हो। म केबाट गुज्रिरहेको छु भनेर कसैले बुझ्न सक्दैन भन्ने सोचहरु हावी हुने समयमा पनि मैले आफ्नो नाजुक अवस्थाबारे कुरा गर्न तिमीसँग सधैं सुरक्षित महशुस गरेँ। त्यो अपरिचित जेन्युइन फेमिनिस्ट केटादेखि जिवनका आरोह अवरोहको महत्त्वपूर्ण साथीसम्म आउँदा संयोगहरुले बारम्बार काम गरिरहे। संयोगहरु बारम्बार हामीमा ठोक्किनुले पनि हाम्रो दोस्तीको महत्त्व थाहा हुन्छ।

लेख्दालेख्दै धेरै नै एकोहोरो गन्थन गरिएछ। लेखेर सकिने साथी होइनौ तिमी। सिंगो जिन्दगी बाँकी छ। यात्राहरु बाँकी छन्। समय बित्दै जाँदा हाम्रो पनि ग्रोथ हुँदै जाला। एक अर्काले सिकेका नयाँ कुरा, विचार अनि आइडियाहरु शेयर गर्ने क्रम कहिल्यै नरोकियोस्। तिमी जस्तो छौ गज्जब छौ मलाई थाहा छ तर यस्तै रहनु चाहिँ भन्दिनँ। गतिशील मान्छे सधैं उस्तो त रहँदैन र रहुनु पनि हुँदैन। परिमार्जित भएर नयाँ संस्करणहरु आइरहनु पर्छ। तिम्रो पनि मेरो पनि। तिमीलाई खुसी देख्न थालेर मलाई पनि खुसी लागेको छ। खुसी रहनु, मस्त रहनु। किताबहरु बाँडेर पढ्ने बानी कहिल्यै नछोड्नु। अनि कहिलेकाही मैले नचिनेको मान्छे पनि डेट गर्नु। आजको लागि यतिमा अन्त्य गर्छु तर यो अन्तिम चिट्ठी चाहिँ होइन। यसपछि हाम्रो नियमित गफगाफ त चलिरहेकै हुनेछ। धेरै धेरै माया।

--

--

Aditya Pokharel

Writer of sorts. Storytelling. Films. Gender. Mental Health. Social Justice. Screenplay.